कसले सम्झेला श्रीलंका टापु लाई ?

कर्णाली , मुस्तांग , जाजरकोट …….
इ नाम धेरै सुनियो … राज्य ले उपेक्षा गर्यो , राज्य ले दिने सेवा सुभिदा मा जनताको पहुच वयेना भनेर … तर सुनसरी जिल्ला लै कसले उपेक्षीत भन्ला…. अनि श्रीलंका टापु लै कसले सम्झन्छ ? तुईन चढेर इस्कुल गएका फोटा त सबैले हेरेका छन् , पत्रिका , टिवी मा….. कसैले देखेको छ , कोशी तरेर इस्कुल गएका फोटा ?

नागरिक दैनिक बाट साभार :

श्रीलंका टापु ऐलानी जमिनमा

विश्वमणि पोखरेल/अमर खड्का, श्रीलंका टापु (सुनसरी) चैत ११ – सप्तकोसी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोसीको मुख्य भँगालो तरी ३ किलोमिटरजति बालुवै बालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ। आँखाले देखिने क्षितिजभन्दा निकै टाढासम्म फैलिएको बलौटे माटोको टापुमा छरपष्ट खरले छाएका कच्ची घरहरू छन्। जताततैबाट हिँड्न सकिन्छ, जहाँ बाटाहरू छैनन्। कहीँ कतै बिजुलीको पोल देखिँदैन। श्रीलंका टापुको नामले चिनिने यो ठाउँ १२ हजारको बस्ती हो।

मधेसका आदिवासी चन्द्रवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्तीको नाम कसरी श्रीलंका टापु रहन गयो? उनीहरूलाई थाहा छैन।
सुनसरीका प्रकाशपुर र महेन्द्रनगरका दुई वडामा विभाजित टापु सप्तकोसीको पूर्वी र पश्चिमी भँगालाको बीचमा अवस्थित छ। हिउँदमा दुवैतिरका लामा लामा बलौटे बगरको बीचमा रहेको बस्ती वर्षामा मात्र पानीले घेरिन्छ र टापुको रुप लिन्छ।
कोसीबाट घेरिएको यो बस्ती सरकारभन्दा निकै टाढा छ। टापुका मतदाता चुनावका बेला भोट हाल्न कोसी पूर्वको प्रकाशपुर र महेन्द्रनगर आउँछन्, भोट हाल्छन्। त्यसबाहेक राज्यसँग अरु धेरै लेनदेन देखिँदैन।
यसअघि सुनसरीको क्षेत्र नं. ५ मा पर्ने यो टापुका जनताले दुई पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र जगदीश कुसियैत अनि अहिले संविधासभामा क्षेत्र नं ६ बाट भीम आचार्यलाई जिताउन योगदान गरेका छन्। यी नेताले आफ्ना मतदातालाई के के गरे त?
शिक्षाको पाटोबाट टापुको समाज खोतल्दा बलौटे मैदानमा खेलिरहेका बालबच्चा ७ कक्षाभन्दा माथि पढ्ने सोच राख्दैनन्। गाउँका तीन विद्यालयमध्ये हालमात्र जनता निमाविले ७ कक्षासम्मको अनुमति पाएको छ।
कक्षा ४ को जाँच दिएकी शोभा चन्द्रवंशीको मनमस्तिष्कमा कक्षा ७ सम्म पढ्ने योजनामात्र छ। ‘सातभन्दा धेरै पढ्न भागलपुर जानुपर्छ,’ उनले भनिन्, ‘एक घन्टा टाढा छ र वर्षामा डुंगा चढ्नुपर्छ।’
पूर्वी भँगालो तर्दा आफ्नै जिल्ला सुनसरी प्रकाशपुर पुग्ने उनीहरूको नजिकको केन्द्र सप्तरीको भागलपुर हो। हिउँदमा पश्चिमी भँगालो लगभग सुक्ने भएकाले आवतजावत गर्न सहज देखिए पनि वर्षामा दुवैतिर कोसी बस्तीनजिकै आइपुग्छ।
कोसीको भेलमा उनीहरूसँग डुंगाको विकल्प छैन। ‘अहिले जताततै बालुवा देखिएजस्तै वर्षामा जताततै पानी पानी हुन्छ,’ शोभाले सुनाइन्, ‘अनि कसरी टाढा पढ्न जाने?’
वसन्तीकुमारी चन्द्रवंशीको पढाइ त दुई वर्षअघि कक्षा ५ पास गरेपछि समाप्त भयो। ‘पढ्न त मन थियो,’ उनले भनिन्, ‘नजिक स्कुल छैनन्, भागलपुरसम्म जान समस्या छ।’

आफ्नो कक्षाका ३० विद्यार्थीमध्ये २० जनाले मात्र ५ भन्दामाथिको अध्ययन गर्न सकेको वसन्तीको भनाइ छ। १६ वर्षकी उनले अहिलेसम्म टेलिभिजन देखेकी छैनन्। दाजु र भाउजूको मोबाइलबाहेक प्रविधिमा उनको पहुँच छैन।
जसले जति सक्यो, त्यति ऐलानी जग्गा ओगटेर खनजोत गरी बाली लगाउन सक्ने टापुमा वसन्तीका दाजुहरूको तीन बिघा जग्गा छ। ५ वटा भैसी र १२ वटा गोरु छन्। उनीहरूको नम्बरी जग्गा कोसीले काटेर बगर बनाएको छ।
घरखेतीको फुर्सदमा मात्र स्कुल जाने बालबालिकालाई खाजा कार्यक्रमले लोभ्याएको भए पनि स्कुल जाने उमेरका २५ प्रतिशत केटाकेटी बगरको धुलोमा खेलेरै दिन बिताउँछन्।
‘दुई वर्षअघि सुरु भएको खाजा कार्यक्रमले ७५ प्रतिशत भर्ना भएका छन्,’ जनता निमाविका शिक्षक गोपाल मण्डलले भने, ‘बाँकी स्कुल आउँदैनन्।’
कौशिकी प्राथमिक विद्यालयका शिक्षक सुरेन्द्र चन्द्रवंशीका अनुसार भर्ना भएकामध्ये गयल हुने उल्लेख्य छन्। २ सय २५ मध्ये १ सय ५० देखि १ सय ७५ जनामात्र दैनिक हाजिर हुन्छन्।
‘बाबुआमा टाढाटाढा किनमेल गर्न गएको अवस्थामा,’ उनले भने, ‘बच्चाहरू घरको रेखदेख गर्न घरमै बस्छन्, स्कुल आउँदैनन्।’
शिक्षाको यस्तो टिठलाग्दो अवस्थामा स्वास्थ्य सेवाको अवस्था कस्तो छ त ? चेतनाको स्तरको मापक के लाई मान्ने? ज्वरो (भुखार) आउँदा स्थानीय गढैया चौकी पुग्ने उनीहरूका सबैभन्दा ठूलो डाक्टर अनमि चित्रकला कार्की हुन्।
गाउँमा तीन स्वास्थ्य स्वयंसेविका छन्। प्रमिला कविरत जस्ता स्वयंसेविका झोलामा विभिन्न खाले औषधी बोकेर हिँड्छन्।
‘बुझाउन धेरै समय लाग्छ उनीहरूलाई,’ १३ वर्षदेखिकी यी स्वयंसेविकाले सुनाइन्, ‘स्वयंसेविकाकै कारण खोप कार्यक्रम प्रभावकारी बनेको छ।’
टापुका अधिकांश दम्पतीका औसत ५ जना सन्तान छन्। ‘६, ७ जना सन्तान पाएपछि मात्र परिवार नियोजन गर्न तयार हुन्छन्,’ प्रमिलाले भनिन्, ‘एक, दुईमै चित्त बुझाउने निकै थोरै छन्।’
कार्कीका अनुसार टापुमा मासिक औसत १०-१२ देखि २०-३० जनासम्म महिला सुत्केरी हुने गरेका छन्। सरकारले गर्भावस्थामा चार पटक नियमित जँचाउने र स्वास्थ्य केन्द्रमा बच्चा पाउनेलाई जँचाएको ४ सय र स्वास्थ्य केन्द्रमा जन्माएवापत ५ सय गरी ९ सय दिने गरेको छ।
श्रीलंका टापुका महिला भने राज्यबाट पाउने सुविधाबाट पनि वञ्चित छन्। उपस्वास्थ्य चौकीमा बर्थिङ सुविधा छैैन। त्यसैले महिलाले सरकारी पैसा पनि पाउँदैनन्।
महिलासँग गर्भावस्थामा नियमित जँचाएको कार्ड हुन्छ। अन्य सरकारी अस्पतालमा बच्चा पाएमा त्यही कार्ड देखाएर पूरै पैसा लिन सकिने भए पनि आफूले दिन नसकेको कार्कीको गुनासो छ।
‘अधिकांशले घरमै बच्च्ाा पाउँछन्,’ उनले भनिन्, ‘नियमअनुसार घरमा बच्चा पाउनेलाई पैसा दिन मिल्दैन।’
वर्षाका चार महिना कोसी बढेका बेला कतिपय सुत्केरीलाई कतै लैजान पनि नसक्ने अवस्था छ। प्रविधिको नाममा गाउँका धेरैको हातमा मोबाइल छ, दुईवटा मोटरसाइकल छन् र तीनजनाले सोलार जोडेका छन्।
मोबाइलको ब्याट्री चार्ज गर्न उनीहरूले ३ किलोमिटर टाढाको प्रकाशपुर पुग्नुपर्छ, डुंगा चढेर। लोडसेडिङका बेला प्रकाशपुरमै दिनभरि कुर्नुपर्ने बाध्यता सुनाउँछन्, सतेन कविरत।
‘मोबाइल चार्ज समय र पैसा दुवै हिसाबले महँगो छ,’ सतेनले सुनाए, ‘एकपटक चार्ज गर्दा ५ रुपैयाँ र डुंगा चढेको २० रुपैयाँ लाग्छ।’
अनमि कार्कीले मोबाइलका चारवटा ब्याट्री राखेकी छन्। ‘साता सातामा घर गएका बेला चारैवटा चार्ज गरेर ल्यायो,’ उनले भनिन्, ‘अनि पालैसँग चलायो।’
टापुको जीवनयापन कृषि र पशुपालनमा निर्भर छ। कोसीको बहावसँगै यहाँको जीवन र अर्थतन्त्र चलेको अनुभव हुन्छ। एक दसकअघिसम्म मलिलो मानिने यहाँका खेत रुखो हुँदै गएका छन्।
परवरको राजधानी मानिन्थो, टापु। अहिले परवर फल्दैन। ‘कोसीनजिकै हुँदा चिस्यान हुन्थ्यो, खेतमा बालीनाली सबै राम्रो हुन्थ्यो,’ परशुराम चन्द्रवंशीले सुनाए, ‘आजकल कोसी भागेर निकै पूर्व पुगेपछि जमिन रुखो भएको छ।’
टापुमा धान फल्दैन। मुख्य उत्पादन गहुँ, मकै र कोदो हो। अहिले गहुँका बाला झुन्डिरहेका छन् र कोसीटप्पुका जंगली हात्तीबाट बाली जोगाउन त्रस्त छन् टापुबासी।
गोठबाट दाम्लो फुकालेर छाडेपछि एकैपटक साँझपख बस्तुभाउ खोज्दा हुने चरनको प्रचुर सम्भावना छ। तर, टापुका किसानले आफ्ना उत्पादन नजिकका सुगम गाउँभन्दा सस्तोमा बेच्नुपर्ने बाध्यता छ।
‘प्रकाशपुरका किसानले लिटरको ४६ मा दूध बेच्छन्, हामीले २५, ३० मै,’ परशुरामले थपे, ‘ठेकेदारहरूले टापुबाटै दूध किनेर अन्यत्र लग्ने भएकाले स्थानीयले कम मूल्य पाएका हुन्।’
टापुमा सुरक्षाको कुनै संयन्त्र छैन। दुई महिनाअघि वैदेशिक रोजगारमा युवा पठाउने काम गर्दै आएका इटहरीका भरत गुरागाइंलाई अपहरणकारीले त्यहीँ लगेर झन्डै दुई सातासम्म बन्धक बनाएका थिए।
सुरक्षाको कुनै पूर्वाधार नभएकाले टापु वन्यजन्तु सिकारीका लागि सुरक्षितस्थल बनेको कोसीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत अशोक रामको भनाइ छ।
पाँच दसकअघि कोसीका दुवै किनारामा तटबन्ध थिएनन्। कोसी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापु थिएन। अहिले कोसी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बीचमा टापु बन्न पुगेको हो।
स्थानीय बाबुराम कार्र्कीका अनुसार पूर्व कोसीको बहाव परिवर्तनसँगसँगै त्यसबेलाको गढौया गाउँ नामेट भयो। कोसी दुई भँगालोमा बाँडिएपछि ठूलो समथर भूभाग टापु बन्न पुगेको हो।
बाढी, पहिरोजस्ता आपतविपतमा परेर आर्थिक अवस्था दयनीय भएका जीवन गुजार्न यहाँ आउने गरेको पाइएको छ। सप्तरी, सिरहा, उदयपुर, सुनसरी, मोरङसँगै पूर्वी पहाडका खोटाङ, ओखलढुंगालगायत स्थानबाट आएका मनिसको आश्रयस्थल बनेको छ, टापु।
कोसी तटबन्ध निर्माणका बेला भारतबाट आएका बंगाली नागरिकको संख्या पनि टापुमा उल्लेख्य छ। जो यही घरजम गरेर नेपाली नागरिक भइसकेका छन्। टापुमा बसोबास गर्ने ऐलानी जग्गामा पाखुरी चलाएर जिन्दगी जिउने छन्। चन्द्रवंशी, उराव, थारु, यादव, कविरत, मुसहर, कोइरी, खत्वे, सार्की, राई, लिम्बू, बाहुन, क्षेत्री सबै खालेको घर बनेको छ, टापु। जनसंख्या र क्षेत्रफल दुवै हिसाबले बेग्लै गाविसको हैसियत राख्छ। तर टापुलाई वडामा सीमित राख्ने प्रकाशपुर र महेन्दनगरका नेता बेग्लै गाविसको मान्यता दिलाउन चाहँदैनन्।
नेताले टापुका बासीन्दालाई हरेक चुनावमा भोट बैंकका रुपमा प्रयोग गर्दै आएका छन्। २०४७ सालदेखि नै बेग्लै गाविसको माग गर्न थालेको शिक्षक सुरेन्द्र चन्द्रवंशीले सुनाए। भोटको राजनीतिमा टापुमा बस्नेहरूको झिनो आवाज कोसीको गर्जनसँगै हराइरहेको छ।

श्रीलंका टापु अनि कर्णाली !
श्रीलंका टापु अनि कर्णाली !
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s